संविधानका विवादित विषय टुङ्ग्याउन बालुवाटारमा चार दलको बैठक



काठमाडौँ, २५ जेठ । सत्तारुढ नेपाली काँग्रेस र नेकपा (एमाले)ले संविधानका विवादित विषयलाई अहिले बसिरहेको चार दलको बैठकबाट टुङ्ग्याउने तयारी गरेका छन् । आइतबार साँझ प्रधानमन्त्री निवास वालुवाटारमा दुई दलबीच भएको समझदारी अनुसार संविधानका विवादित विषयलाई सोमबार चार दल बसेर टुङ्ग्याइने निर्णय भएको थियो । सोही निर्णय अनुसार अहिले प्रधानमन्त्री निवास बालुवाटारमा चार दलको बैठक बसिरहेको नेपाली काँग्रेसका नेता एवम् वन तथा भूसंरक्षणमन्त्री महेश आचार्यले जानकारी दिनुभयो । चार दलका शीर्ष नेताहरुको बैठकले निर्वाचन प्रणाली र सङ्घीय प्रदेशको रचनाका मुद्दालगायत अन्य नमिलेका विषयमा घनिभूत रुपमा छलफल गरी टुङ्ग्याउने आशा व्यक्त गर्नुभयो । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले जतिसक्यो चाँडो संविधान जारी गर्ने गरी सबै पार्टी लागिरहेको अवस्थामा सङ्घीय प्रदेशको सङ्ख्याका विषयमा शीर्ष नेताहरु गम्भीर ढङ्गले बैठक बसी आजै टुङ्ग्याउने विश्वास व्यक्त गर्नुभयो । नेपाली काँग्रेसका प्रमुख सचेतक चीनकाजी श्रेष्ठले सबै दल छिटो छिटो संविधान ल्याउनुपर्छ भनेर जोडतोडका साथ लागेको उल्लेख गर्दै प्रदेशको सङ्ख्यामा सहमति नजिक पुगको र सीमाङ्कनमा फरक फरक धारणा आइरहेको बताउनुभयो ।

No comments:

Post a Comment