भूकम्प पीडितको परिचयपत्र बन्यो, अब नगद पाउने, नक्कलीलाई परिचपय दिए सरकारी अधिकारी कारवाहीमा.....!


२० जेठ, काठमाडौं

- सरकारले भूकम्प पीडितको परिचयपत्र बनाएर मात्रै अस्थायी घर बनाउनका लागि नगद र अन्य राहत सुविधा उपलव्ध गराउने भएको छ ।

यसअघि निकासा भएर जिल्ला गइसकेको बजेट पनि परिचयपत्रका आधारमा मात्र वितरण गर्न लागिएको हो । वास्तविक पीडितको परिचयपत्र बनाएर वितरण गर्दा दुरुपयोगको सम्भावना नहुने भएकाले यसो गरिएको गृहमन्त्री बामदेव गौतमले बताए ।
परिचयपत्रको नमूना केन्द्रबाट भूकम्प प्रभावित सबै जिल्लामा पठाइसकिएको छ । परिचयपत्रको फारममा घरमूलीको फोटोसहित राखिने र सोही आधारमा भूकम्प पीडितलाई परिचय पत्र प्रदान गरिनेछ ।

जिल्ला दैबी प्रकोप उद्दार समितिहरुले केन्द्रले पठाएको नमूना अनुसार आ-आफ्नै फारम बनाई गाविस सचिव मार्फत वितरण गरेका छन् । जसमा क्षतिको अवस्था, परिवारको संख्या लगायत सबै विवरण भर्नुपर्नेछ ।

यो विवरण रुजु गरेपछि वास्तविक पीडितलाई उसको वर्ग अनुसारको परिचयपत्र दिएर राहत नगद वितरण गरिनेछ । वर्ग भन्नाले घरको क्षतिलाई निर्धारण गरिएको छ ।

यो परिचयपत्र राहत सुविधा, ऋणलगायत भूकम्प पीडितले पाउने सबै सुविधाका लागि आधिकारिक प्रमाण मानिने गृह मन्त्रालयले जनाएको छ । वास्तविक पीडितभन्दा अरुले कुनै उपायबाट यो परिचयपत्र प्राप्त गरेमा परिचयपत्र प्रदान गर्ने व्यक्तिसमेत कारवाहीमा पर्ने चेतावनी दिइएको छ ।

No comments:

Post a Comment