कुहिरे भीर क्षेत्रको स्थलगत अवलोकन तथा अनुसन्धान शुरु गरिएको





अत्यन्त जोखिमपूर्ण मानिएको सिद्धार्थ राजमार्गको बुटवल दोभान सडकखण्डलाई सुरक्षीत बनाउने विकल्पको रूपमा मानिएको रकफल रकनेट प्रविधिको प्रयोगको लागि कुहिरे भीर क्षेत्रको स्थलगत अवलोकन तथा अनुसन्धान शुरु गरिएको छ।
वर्षा होस् या हिँउद चट्टानसहितको पहिरो झरी हरेक वर्ष कैयौं व्यक्तिहरुको ज्यान जाने गरेपछि सरकारले बुटवल दोभान सडकखण्डलाई सुरक्षित बनाउने विकल्पहरुको खोजी गरेको हो।
सोहि अनुरुप मंगलबार सडक विभागका सहायक महानिर्देशक केशव शर्मा र पाल्पाका सभासद सोमप्रसाद पाण्डेको नेतृत्वमा भुगर्भविद र यसक्षेत्रका विज्ञहरुको टोलीले त्यहांको स्थलगत निरीक्षण गरेको छ।
भुगर्भविद डा. रञ्जन कुमार दाहाल, अष्ट्रियन भुगर्भविद मार्कस् हेभेन, पहिरोको विषयमै विद्यावारिधी गरेकी डा.मनिता तिमिल्सेना लगायत सडक विभागका अन्य प्रतिनिधीहरुको टोलीले सो सडकको निरीक्षण गरेको हो।
पछिल्ला केहि वर्षयता ज्यानमारा सडकको रूपमा चिनिदै आएको यो सडक खण्डलाई रेकफल रकनेट प्रविधिबाट सुरक्षित बनाउन परिक्षको काम सुरू गरिने भएको छ।
रकफल रकनेट प्रविधिमा भीरलाई नै जालीले ढाकेर झर्न थालेको पहिरोलाई नियन्त्रण गरिन्छ। जसले गर्दा झरेको पहिरो जालीले छेक्ने हुँदा सडकमा चल्ने सवारी साधन र यात्रुलाई क्षती पुग्न पाउँदैन।
केहि वर्षयता यही सडकको विषयमा अध्ययन तथा अनुसन्धान गर्दै आएका भुगर्भविद डा. दाहालले यो सडकको जोखिमबाट बच्ने वैकल्पिक सडक, सुरुङमार्ग र रकफल रकनेट प्रविधिमध्ये छिटो र कम लागतमा बनाउन सकिने यहि प्रविधि भएको बताउँछन्। ‘२० करोडको लागतमा अत्यन्त जोखिम रहेका कुहिरेभिरका १०/१२ स्थानमा जाली हालेर सुरक्षित बनाउन सकिन्छ,’ उनले बताए।
यस्ता सडकलाई सुरक्षित बनाउने जुनसुकै प्रविधि पनि शत प्रतिशत सफल नहुनपनि सक्ने भन्दै उनले नेपालमा भने यो पहिलो पटक परिक्षणको रुपमा लिईएको दाहालले बताए।
सडक विभागका सहायक महानिर्देशक शर्माले यो सडकको अन्य विकल्पलाई पनि खुल्ला गर्दै परिक्षणको लागि तत्कालको लागी १ सय मिटर क्षेत्रमा अष्ट्रियन कम्पनी Trumer schutzbuauten  ले विनाशुल्क रकफल रकनेट हाल्ने बताए।
परीक्षणको रुपमा रहेको यो प्रविधि सफल मानिए सिद्धबाबादेखि दोभान सम्मको ३ किलोमिटर क्षेत्रमा यहि प्रविधीको प्रयोग गरिने उनले बताए।
अष्ट्रियन भुगर्भविद हेभेनले अरु देशहरुमा यो प्रविधी सफल मानिएको र यो सडकमा पनि सफल मानिने विश्वास व्यक्त गरे। यूरोप, जापान, चिन, हङकङ लगायतका देशमा सफल मानिएको यो प्रविधी यो सडकखण्डमा पनि सफल हुने उनको विश्वास छ।
सभासद पाण्डेले पछिल्ला दशवर्ष यता सयौ व्यक्तिको ज्यान लिएको यो सडकलाई सुरक्षित गर्ने विषयमा विभाग र मन्त्रालयमा पटकपटक छलफल गरिएको उल्लेख गर्दै त्यसैको प्रतिफल स्वरुप यो प्रविधीको परिक्षणको काम अगाडि सारिएको बताए।
पछिल्लो पटक मात्रै गत साउन २२ गते लु. १ ख. ५७७१ नं. को बसमाथीबाट खसेको पहिरोले बगाउँदा तीनजनाको ज्यान गएको थियो भने असार २ गते सोहि स्थानमा खसेको पहिरोमा परी दुईजना चिकित्सकको ज्यान गएको थियो।
सरकारले यसैवर्षको नीति तथा कार्यक्रममा सुरुङमार्गको लागि अध्ययन गर्ने भन्दै रातो किताबको अनुसूचीमा उल्लेख गरेको छ। तिन किलोमिटर सुरुङमार्ग बनाउन झण्डै १५ अर्ब लाग्ने यस क्षेत्रका विज्ञहरु बताउँछन्।

No comments:

Post a Comment