८ प्रदेशमा सहमतिको विषयले प्रचण्ड मोर्चामा तीब्र विवाद राष्ट्रिय आवश्यकता र जनताको चाहनाअनुसार अगाडि बढ्नुपर्छः प्रचण्ड


काठमाडौँ, जेठ २५– दलहरुबीच ८ प्रदेशमा करीबकरीब सहमति भइसकेको भनिएपछि एमाओवादी अध्यक्ष प्रचण्ड नेतृत्वको मोर्चामा तीब्र विवाद देखिएको छ ।

प्रचण्ड नेतृत्वको तीस दलीय मोर्चामा सहभागी राजनीतिक दलले सो सहमतिको विरोध गर्दै राज्य पुनःसंरचनाका विषयमा प्रस्ट धारणा बनाएर मात्रै सहमति गर्न जोड दिएका छन् ।

एमाओवादीको संसदीय दलको कार्यालय सिंहदरबारमा आज बसेको बैठकमा तराई–मधेस लोकतान्त्रिक पार्टी र मधेसी जनअधिकार फोरम नेपाललगायतले सीमाङ्कन नगरी राज्य पुनःसंरचनाका विषयमा सहमति नगर्न मोर्चाका संयोजक एवम् एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई ध्यानकर्षण गराएका हुन् ।

मोर्चाका संयोजक प्रचण्डले भने मुलुकको आवश्यकता र चाहनालाई आत्मसात् गर्दै संविधान निर्माणको प्रक्रियालाई अगाडि बढाउनुपर्नेमा जोड दिएका थिए ।राज्य पुनःसंरचना आयोग र अघिल्लो संविधानसभाको राज्य पुनसंरचना समितिले दिएको प्रतिवेदन तथा अन्य वस्तुगत अवस्थाका आधारमा सहमतिका लागि लचक बन्न उनले मोर्चामा सहभागी दललाई आग्रह गरेका थिए ।

बैठकपछि मोर्चाका प्रवक्ता प्रेमबहादुर सिंहले सहमतिका आधारमा संविधान जारी गर्नका लागि अधिकतम लचक भएर प्रस्तुत हुन संयोजकलाई जिम्मेवारी दिइएको जानकारी दिए ।

उनले आफ्नो फरक मतसहित नै भए पनि संविधान निर्माण प्रक्रियालाई अगाडि बढाउनुपर्ने विषयमा छलफल भएको बताए ।

तमलोपाका सहअध्यक्ष हृदयेश त्रिपाठीले भने सीमाङ्कनबिनाको सङ्घीय प्रदेश तथा निर्वाचनमा राखिएको मत प्रतिशत सीमाका विषयमा आफूलाई स्वीकार्य नभएको बताए ।

 मोर्चा विभाजित भएको हो त भन्ने जिज्ञासामा उनले चार शक्तिका बीचमा हुने सहमति वा असहमतिका आधारमा सबै विषय निर्धारण हुने बताए ।

सद्भावना पार्टीका महासचिव मनीषकुमार सुमनले पनि सबैलाई मान्य हुने गरी सहमति हुनुपर्नेमा जोड दिँदै चार पक्षका बीचमा हुने सहमति आफूहरूलाई मान्य नहुने बताए ।

 मोर्चाका प्रवक्ता सिंहले भने सबै दलले भने जस्तो सहमति हुन नसक्ने भएकाले केही गुनासो हुन सक्ने बताए ।
राष्ट्रिय मधेस समाजवादी पार्टीका अध्यक्ष शरत्सिंह भण्डारीले भने केही दलले विरोध गरे पनि मोर्चाको आजको निर्णय सर्वसम्मत भएको प्रतिक्रिया दिए ।

आजको बैठकमा मोर्चाका संयोजक प्रचण्डले चार दलका बीचमा भएको पछिल्लो छलफल र सहमतिको आधारका बारेमा जानकारी गराएका थिए ।

No comments:

Post a Comment