एसएसबीबीच गोली हानाहान



विराटनगर–सीमावर्ती बजार जोगवनीस्थित एसएसबीको बोर्डर आउट पोष्ट क्याम्पमा कार्यरत्त दुई जवानबीच 'गोली हानाहान' भएको छ । मंगलबार अवेर राति भएको उक्त घटनामा एसएसबीका दुई जवान गम्भीर घाइते भएका छन्।

भारतीय पत्रिका हिन्दुस्तानको भागलपुर संस्करणमा छापिएको समाचारमा एसएसबीका ती दुई जवानले आपसी विवादमा एक–अर्कालाई गोली हानेको उल्लेख गरिएको छ । तर, एसएसबीका डिआइजी एसएस ठाकुरले 'एक्सीडेंटल फायर'मा दुई जवान घाइते भएको बताएका छन् । घटनाकै राति डिआईजी ठाकुर जवानको उपचार भइरहेको फारविंशगञ्जस्थित जीवन ज्योती अस्पताल पुगेका थिए ।

घटनाबारे अनुसन्धान भइरहेको जोगवनीस्थित एसएसबी कार्यालयले जानकारी दिएको छ । घटनामा जवान राजस्थान घर भएका अशोककुमार बर्मा र उत्तर–प्रदेशका राहुल कुमार घाइते भएका छन् । एसएसबीका जवान राहुलको तालुमा गोली लागेको छ । उनको अवस्था गम्भीर छ । अशोकको छातीमा गोली लागेको छ । जीवन ज्योती अस्पतालका प्रवन्धक सरिता मेहताले गोली लागेका एसएसबीका दुबै जवानलाई बचाउने प्रयास जारी रहेको बताइन् ।

एसएसबीको क्याम्प कार्यालयले जोगवनीको प्रहरी प्रमुखलाई पेट्रोलिङ सकिएपछि ब्यारेकमा आएर पानी खाने क्रममा हतियार झरेर गोली चलेकाले दुबै घाइते भएको लिखित रिर्पोट बुझाएको छ । घटनापछि एसएसबीले कोर्ट अफ इनक्वायरी गठन गरेको छ । भारत सरकारले सीमावर्ती क्षेत्रमा सुरक्षार्थ अर्ध सुरक्षा वल एसएसबीको तैनाथी गरेको छ ।

No comments:

Post a Comment